वीरगञ्जको मेयरमा विजय सरावगीको उम्मेदवारी १३ भदौ, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले दुई नम्बर प्रदेशको स्था...
वीरगञ्जको मेयरमा विजय सरावगीको उम्मेदवारी
१३ भदौ, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले दुई नम्बर प्रदेशको स्थानीय चुनावका लागि मंगलबार उम्मदेवारहरुको नामावली सार्वजनिक गरेको छ । फोरमले वीरगञ्ज महानगरपालिकाको मेयरमा स्थानीय व्यापारी विजय सराबगीलाई उठाउने निर्णय गरेको छ ।
मंगलबार राजधानीमा बसेको फोरमको कार्य सम्पादन समिति बैठकले सराबगीलाई महानगरको मेयरमा उठाउने निर्णय गरेको हो । साथै उपमेयरमा पिंकीदेवी यादवलाई उठाउने निर्णय भएको फोरमले जनाएको छ ।
६ जिल्लामा उम्मेदवार तय
फोरमले दुई नम्बर प्रदेशका ८ जिल्लामध्ये ६ वटा जिल्लाका अधिकांश स्थानीय तहमा उम्मेदवार घोषणा गरेको छ ।
फोरमले कलैया उपमहानगरपालिकामा प्रमोदप्रसाद गुप्तालाई उपमेयरको उम्मदेवार घोषणा गरेको छ । त्यहाँ मेयरको उम्मदेवारी घोषणा गरिएको छैन । त्यस्तै बाराकै जितपुर सिमरा उपमहानगरमा पनि उम्मदेवार तय गर्न बाँकी छ ।
त्यसैगरी दुई नम्बर प्रदेशमा पर्ने अर्को उपमहानगरपालिका जनकपुरमा पनि फोरमले उम्मदेवारी तय गर्न बाँकी छ ।
सप्तरीको राजविराज नगरपालिकामा भीमराज यादवलाई मेयर र किरण कुमारी साहलाई उपमेयरको उम्मेदवार बनाइएको छ ।